केही दिन अघिको मेरो अर्थशास्त्र विषयको स्नातकोत्तरको दोस्रो सेमेस्टरको अन्तिम परीक्षाको दिन एउटा सामान्य बनाइएको घटनाको अर्को एपिसोड देख्न पाएँ। एकजना परीक्षार्थी आफ्नो सीटबाट उठेर ग्यालरी शैलीको परीक्षा हलको भर्याङ ओर्लिन थाले। पर्यवेक्षकले, “कता जान लाग्या?” भनेर अलि कडा स्वरमै सोध्नु भयो। “ट्वाइलेट”, परीक्षार्थी साथीले भने। “दुई घण्टा पछि पाइदैन”, कुनै ठुलै अपराध रोक्न लागेको जस्तो अहङ्कारमा जवाफ दिए। “यहीं गर्दिऊँ त?”, आजित भएर साथीले भने। “गर्दिनुस्”, झर्किँदै पर्यवेक्षकले भनी। परीक्षा हलमा हाँसोको लहर दौड्यो। आधारभूत अधिकारको हननले निम्त्याएको लाचारीमाथिको हाँसो।
परीक्षा दिने दिन कति पानी खाने र कतिबेला खाने बारे पनि नेपालका विश्वविद्यालयहरू तथा अन्य शैक्षिक निकायहरूले एउटा गाइड निकाल्नु पर्छ जस्तो लाग्छ। किनभने पानी कति र कतिबेला खाने त्यो त तपाइको इक्षा, स्वतन्त्रता र अधिकार भित्र पर्छ तर परीक्षाको बेला तपाईं कतिबेला शौचालय जान पाउनुहुन्छ त्यो चाँहि परीक्षा लिने निकायले निर्धारण गर्छ। मेरो आफ्नो अनुभव र हेराइमा पहिलो घण्टा र दोस्रो घण्टा बितेको जनाउ घन्टी बज्ने बीचको समयमा मात्र परीक्षा हलबाट शौचालय सम्मको यात्रा गर्न पाइन्छ। एक दुइटा अपवादबाहेक तपाईंको पनि अनुभव र हेराइ यस्तै होला।
अहिलेसम्म करिब करिब ६०० वटा परीक्षा दिएको मेरो जीवनकालमा मैले कहिल्यै पनि यो कुरालाई महत्वका साथ कसैले उठाएको देखेको छैन। न त विद्यार्थी सङ्गठनले न त शिक्षा विभाग र मन्त्रालयले नै। त्यसैले होला विद्यार्थीको नियति नै अहिलेसम्म निर्धारित समय बाहिर शौचालय जाने आवश्यकता महसुस भए ‘कन्ट्रोल’ गरेर बस्ने सम्ममा मात्र छ। र सम्भवतः तपाई पनि त्यो पीडाबाट एक न एक चोटी गुज्रिनु भएको होला।
परीक्षा हलबाट बाहिरिए पछि मैले प्रवेश पत्रमा लेखिएका परीक्षार्थीहरूले पालना गर्नुपर्ने नियमहरू पढेँ र ती नियमहरूको सूचीमा मैले यो दुई घण्टे नियमबारे कतै केही भेटिन। के मात्र लेखिएको रहेछ भने कुनै परीक्षार्थी १ घण्टा भन्दा अगाडि बिना अधिक्षक वा पर्यवेक्षकको अनुमतिबिना हल बाहिर जान पाउने छैनन्। त्यसोभए आखिर कहाँबाट आयो त्यो शौचालय निषेधक दुइ घन्टे नियम? र कसरी यो नियमबारे कहीं कसैले कुनै केही बोलेनन्। कसैलाई जानकारी भए यही लेखको तल कमेन्ट गर्दिनुहोला। हाम्रो समाजमा यस्ता धेरै नियम र मानदण्डहरु (norms) छन् जसलाई हामी बिना कुनै प्रश्न गरि स्वीकार गर्छौं। र धेरैजसो मामिलामा नियमन गर्ने व्यक्ति वा निकायसँग “किन?” को जवाफ हुन्न। र जवाफ खोज्नु पनि पर्दैन किनभने हामी केही प्रश्न नगरी चुपचाप नियम पालन गर्ने हुल हौँ।
शौचालय निषेधको नियम किन लगाइएको होला भन्ने त हामी यसो अनुमान लगाउन सक्छौँ। सम्भवतः यो नियम परीक्षामा हुने अनियमितता रोक्नको लागि ल्याइएको होला। तर राम्रो उद्देश्यले अनुचित तरिकालाई औचित्य दिँदैन। र के उद्देश्य असल भएपनि यो कदमले अनियमितता रोक्न सघाएको छ त, र छ भने कति? के कुनै शैक्षिक निकायबाट कुनै अध्ययन वा प्रयोग भएको छ यो कुरा मा? कि कुनै धर्मशास्त्रमा लेखिएको जस्तै आँखा चिम्लेर हामीले यसलाई पालना गर्नुको कुनै विकल्प छैन ? शौचालय जानु पर्ने अनेक कारण हुन सक्छन्। कोही धेरै पानी खानु पर्ने किड्नी स्टोनका बिरामी हुन सक्छन्, कोही महिनाबारीबाट गुज्रिरहेको हुन सक्छन् र कोही गर्मीलाई छिचोल्न अलि बढी पानी खाएको हुन सक्छन्। के यी मध्ये कुनै पनि कुरा अपराध हो? अपराध एउटा मात्र हो यस मामिलामा, कसैलाई शौचालय जाने हकबाट वञ्चित गर्नु। कसैलाई परीक्षा हलजस्तो एकाग्र हुनुपर्ने ठाउँमा आफ्नो पिसाब रोक्नेतिर ध्यान केन्द्रित गर्न बाध्य बनाउनु। कसैलाई बिना कुनै गल्ति सजाय र पीडा दिनु।
सतही दृष्टिकोणले हेर्ने हो भने यो परीक्षा हलमा हुने सामान्य घटना हो। विद्यार्थीले केही मिनट वा घण्टा भर आफ्नो शौचालय यात्रा रोक्नु पर्ने समस्या शायद नेपालको शिक्षामा गरिनु पर्ने सुधारको प्राथमिकताको सूचीमा शीर्ष १०० मा पनि पर्दैन होला। तर यो सुधार गर्न सम्भवतः न्यून प्रयास र नीति नै काफी हुन्छन्। यसले ठूला ठूला परिवर्तन सँगसँगै हाम्रो शिक्षा प्रणालीमा अलिकति मानवता पनि जोगाउन मदत गर्नेछ।
Leave a Reply